fbpx

छायाँ सेन्टरको दाबी : कानुन मिचेर कम्प्लेक्स बनाएका छैनौं

काठमाण्डौं । हिन्दू समाजमा एउटा उखान छ ‘‘बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन ।’’ यस्तै उखानसंग मेल खाने गरी काठमाण्डौंको पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भएको छायाँदेवी कम्प्लेक्स अर्थात् छायाँ सेन्टरलाई केही व्यक्तिहरूले  विवादमा पार्ने प्रयास भएको छ । हुन त काठमाण्डांैमा निर्माण हुने ठूला निजी लगानीका व्यवसायिक भवन, मल, सपिङ, कम्प्लेक्सलगायतका भौतिक संरचनाहरूमा विवाद झिकेर पैसा असुल्नेहरूको सक्रियता सबैलाई थाहा भएकै विषय हो । यस्ता माफिया गिरोहहरू मध्ये कसैले लगानीकर्ताहरूलाई सीधै निशुल्क हिस्सेदारी माग्ने, कसैले कोठा र सटर माग्ने त कसैले नगद रकम नै माग्ने गरेका खबरहरू बाहिर आउने गरेका छन ।

 
 यस्ता गिरोहहरूले सके धम्क्याएर रकम असुल्ने धम्क्याउन नसके झुठा र कपोकल्पित उजुरी हालेर सताउने गरेका घटनाहरू पनि बेला बेलामा सार्वजनिक हुने गरेका छन । यस्तै झुठा र कपोकल्पित आरोप लगाउदै एउटा गिरोहले ठमेलको छाँया कम्प्लेक्सका लगानीकर्ताहरूलाई सताउन थालेको खबर बाहिर आएको छ ।

 
‘कम्प्लेक्समा गएर विवाद गराउने केही गिरोह नै लागिपरेको बताउदै छाँया सेन्टरका प्रबन्धनिर्देशक महेश्वर श्रेष्ठ भन्छन् ‘‘ठूलो लगानीमा निर्माण भएका कम्प्लेक्स देख्नासाथ केही व्यक्तिहरू पैसाका लागि जालझेल गर्न सकिन्छ कि भनेर हिंड्ने गरेका छन् ।’’

 
स्वदेशी लगानीलाई निरुत्साहित गर्ने गरी धावा बोल्दै हिँडने गिरोहबाट जोगाउन प्रबन्धनिर्देशक श्रेष्ठले सरकारसँग आग्रह गरेका छन् ।
२०७५ कात्तिक ८ गते काठमाडौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो । दुई बर्ष लगाएर निर्माण भएको छाँया सेन्टर औपचारिकरुपमा २०७५ पुस १० गते देखि सञ्चालनमा आएको हो । तीन दर्जन स्वदेशी लगानीकर्ताको करीब साढे पाँच अर्ब रुपैयाँ लगानीमा छायाँ कम्प्लेक्स निर्माण भएको बताइन्छ ।


काठमाडौं महानगरको वडा नं. २९ मा करिब १३ रोपनी जग्गामा निर्माण भएको पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छायाँ कम्प्लेक्समा तारेस्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । कम्प्लेक्समा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लबलगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय पनि कम्प्लेक्समा छन् । यस कम्प्लेक्सलाई ठमेल क्षेत्रमै सबैभन्दा ठूलो व्यवसायिक संरचना मानिन्छ ।


लगानीकर्ताहरूले जग्गा किनेको ६ बर्षसम्म कुनै व्यक्ति वा समूह कुनै पनि विषयमा दाबी बिरोध गर्न नआउनु निर्माण सम्पन्न भएर कम्प्लेक्स सञ्चालनमा आइसकेपछि अनेकौं लफडा ल्याएर बद्नाम गर्दै हिंड्नुलाई ठमेलका व्यवसायीहरूले अनौठो मानेका छन ।


कम्प्लेक्स निर्माण अघि २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाइ गरेर छिमेकी तथा साँधसँधियारसँग कुनै दाबी बिरोध नरहेको सम्बन्धी सम्झौता समेत गरिएको थियो । सार्वजनिक महत्वका निजी तथा सरकारी संरचना निर्माण गर्दा यस्ता प्रक्रियाहरू पूरा गर्नुपर्ने कानूनी प्राब्धानहरू छन ।

 
कम्प्लेक्स निर्माण गर्दा केही स–साना कानूनी अड्चनहरू आउदा जिल्ला अदालत काठमाडौं र उच्च अदातलत पाटनबाट फैसला भएको कम्प्लेक्सका लगानीकर्ता तथा पर्यटन व्यवसायी सुमन पान्डे बताउँछन । त्यसबेला स्थानीय केही व्यक्तिहरूले कमलपोखरी मिचेर छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको भनेर विरोध गरेका थिए र कम्प्लेक्स निर्माण भएको जग्गाका विषयमा २०३० सालदेखि काठमाण्डौ जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले पनि केही मानिसहरूले फैलाएका हल्लाहरू असत्य भएको छाँया कम्प्लेक्स सञ्चालकहरूको भनाई छ । २०३० साल देखिका विभिन्न मुद्दामा भएका फैसलाका लिखित प्रमाणहरूले पनि सञ्चालकहरूको भनाईलाई पुष्टि गर्दछ ।  

 
जग्गा किन्दादेखि कम्प्लेक्स निर्माण गर्दासम्मको प्रक्रियामा   आफूहरूले सम्पूर्ण कानूनी प्रक्रियाहरू पूरा गरेर राज्यलाई करोडौँ राजस्व तिरेको बताउँदै प्रबन्धनिर्देशक श्रेष्ठले भने ‘‘ कुनै कैफियत नभएको शुद्ध लालपूर्जा हेरेर पैसा तिरेर कानून बमोजिम जग्गा किनी संरचना निर्माण गर्दा पनि विभिन्न प्रकारका विवादमा मुछ्ने प्रयास गरिएको’ भन्दै दुख व्यक्त गरे । 

 
 कम्प्लेक्स बनेको जग्गामा पुरातात्विक सम्पदा रहेको भन्दै असूली र बार्गेनिङ् गर्दै हिंड्ने गिरोहले संसदीय समिति,  पुरातत्व विभागलगायत सरकारी निकायहरूमा उजुरी समेत गरेका थिए । तर छाँया कम्प्लेक्सका सञ्चालकहरू २०३० साल यताको जग्गाको अभिलेख बोकेर बसेका छन् । उनीहरूले महानगर, मालपोतलगायतका सम्पूर्ण सरकारी निकायबाट कानूनी इजाजत लिएको देखिएको छ ।

 
 काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । २०७५ कात्तिक ८ गते कामनपाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।

 
छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरूलाई आधार बनाएर तत्कालीन कानूनी व्यवस्थाहरूलाई नै गलत सावित गराउन खोज्नु मिलापत्र पनि गर्ने पैसा पनि झार्ने गिरोहको दुष्प्रयास रहेको लगानीकर्ताहरूले बताएका छन

 
 यस्तो छ जग्गाको इतिहास


 काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम,  कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम,  कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै २०४४।१०।१० गते अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको देखिन्छ ।

 

यसअघि २०३०।०१।२५ गते देखि २०३३।०९।०३ गतेसम्म जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चमा पुगेको उक्त जग्गा सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले मोही केशर शम्शेरले मोही भेग चलन गरी खान पाउने गरी भगवान गुठीसंग मिलापत्र गराएको विभिन्न प्रमाणित कागजातहरूले देखाएको छ ।

 
 साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गामध्ये माथि उल्लेखित जग्गाहरू अम्बिका राणाको नाममा मोही दर्ता भई भोगतिरो रहेको जग्गाका रुपमा छ । उक्त जग्गा केशर शम्शेरको नाममा मोही जनाइएको छ ।

 
१ नम्बर नापीको दर्ता नम्बर ९१२ ले मिति २०३९ जेठ २३ को गुठी तथा तहशिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ चलानी नम्बर २४३३, मिति २०३९ जेठ २१ को पत्र अनुसार कित्ता नम्बर १६७ को १२ रोपनी ११ आना २ पैसा ३ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा दर्तावाला मोही केशर शमशेर रहेको देखाउँछ ।


 कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम मध्येबाट रजिष्ट्रेशन नम्बर १३२३२ मार्फत मिति २०३९ असार १० मा ६ आना जग्गा सुधा पैडोल र रजिष्ट्रेशन नम्बर १३२३३ मार्फत सोही दिन २ रोपनी १० आना जग्गा विना पौडेललाई केशर शम्शेरले राजीनामा लिखतबाट कित्ताकाट गरी नामसारी गरिदिएको देखिन्छ ।


 केशर शम्शेरको मृत्युपश्चात् उनको हकदाबी अम्बिका राणा भएकाले कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा अम्बिका राणाको नाममा नामसारी गरिपाउँ भन्ने निवेदन परेको थियो ।


 सो पश्चात् अम्बिकाको नाममा जग्गा नामसारी गर्न बाधा अड्चन भए सात दिनभित्र सूचना पठाउन भनी ठमेल सिंह सार्थ गरुड भगवान गुठीलाई गुठी लगत तथा तहशिल कार्यालयले पत्र पठाएको थियो ।


जवाफमा भगवान बहाल गुठीले २०४४ माघ १० गते अम्बिका राणाको नाममा जग्गा नामसारी हुँदा कुनै आपत्ति नपर्ने व्यहोरा उल्लेख गरेको थियो । सोही आधारमा २०४४ माघ २० गते उल्लेखित जग्गा अम्बिका राणाको नाममा नामसारी भएको दस्तावेजमा उल्लेख छ ।


गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझाए पश्चात २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशिल कार्यालयबाट रैतानी नम्बरी कायम भएको व्यहोरा दस्तावेजमा प्रष्ट छ ।


यो रैतानीको निर्णय भूलबस भएकाले रैतानी गर्न नमिल्ने भन्दै रकम लिन आउनु भनी २०४७ फागुन १४ गतेको गुठी तहशिल कार्यालयले पत्र पठाएकोमा उक्त पत्र बदर गरी पाउँ भनी परेको मुद्दालाई काठमाडौं जिल्ला अदालतले बदर गरे पश्चात् पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते सदर गरी अन्तिम फैसला गरेको थियो ।

 
यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्दाको सवालमा २०६२ असार १६ गते काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैंयाँ नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो । त्यसपछि २०७० बैशाख २० मा काठमाडौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भएको थियो ।


 फेरि सर्वोच्च पुगेका उनीहरूलाई सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने भन्ने नै आदेश गरेको थियो । फेरि पनि सर्वोच्चमा सोही विषयलाई लिएर पुगेकाहरूलाई सर्वोच्चले २०७१ कात्तिक २ गतेका दिन रोक्का राख्न नमिल्ने भनी विपक्षका नाममा नै आदेश दिएको थियो ।


२०७१ मंसिर २५ गते काठमाडौं जिल्ला अदालतले छाँयादेवी कम्प्लेक्सको पक्षमा अन्तिम फैसला गरेको थियो । त्यसपश्चात् पुनरावदेन अदालत पाटनले पनि २०७२ फागुन १० गते छाँयादेवी कम्प्लेक्सको पक्षमा नै फैसला गरेको थियो ।


‘अदालतले पटक–पटक तार्किक निष्कर्षमा पु¥याएको विषयलाई बखेडा बनाएर किन प्रचार गरिँदैछ भन्ने लगानीकर्ता त आश्चर्यमा छन नै यस विषयले ठमेलका व्यवसायी पनि आश्चर्यमा परेको बताउछन् । (साँघु साप्ताहिक, फागुन १३)