हामी पनि आफ्ना तर्फबाट गर्न सकिने कामहरु गर्छौं । उद्योगभित्र पनि अब सहमतिमा ‘सप्लाई’ घटाउन सकिन्छ । एयरलाइन्सले विमान संख्या घटाउन सक्छ । होटेलहरुले आधा कोठा तत्कालका लागि बन्द गर्न सक्छन् । सहमति भयो भने कर्मचारीहरुलाई बेतलवी बिदामा घर पठाउन सकिन्छ ।आपतकालमा नेगोसियसनमै तलब पनि घटाउन सकिन्छ । यस्ता धेरै उपाय लगाउन सकिन्छ । सकभर खर्च कम गर्ने उपायतर्फ व्यवसायीसमेत जुट्नुपर्छ । सरकारले त्यसमा सघाउनुपर्छ । मूख्य कुरा पहिलो ६ महिना त हामी बाँच्नुपर्छ ।
हिजो हामीले एयरलाइन्स एशोसियसनसँग पनि कुरा गर्यौं । लगभग ५० प्रतिशत उडान रद्ध भइसकेका छन् । चीनको मार्केट त शुन्यमै गयो । अहिले जुन रुपमा कोरोनोको संक्रमण दर बढ्दै छ, त्यही अवस्था रह्यो भने हाम्रो पर्यटन साफ नै हुन्छ । त्यसपछि अनिकालमा कन्दमुल खाएर बस्नुपर्ने जस्तो अवस्था आउँछ । त्यसैले पर्यटन उद्योग बचाउन सरकारले सहयोग गर्नुपर्छ ।
यत्रायत्रा होटलहरु बनेका छन् । स्टार होटलहरुले करोडौं रुपैयाँको किस्ता तिर्नुपर्छ । अब ६ महिनासम्म किस्ताबापतको ईएमआई होल्ड हुने गरी नीति ल्याउनुपर्यो । १० वर्षको ऋण १५ वर्षलाई ‘रि–सेड्युल’ गर्दा समस्या समाधान हुन्छ । त्यो गर्न सरकार चुक्यो भने दुर्घटना हुन्छ, व्यवसायीहरु सडकमा पुग्छन् । पर्यटकका भरमा स–सानो व्यवसाय चलाइरहेकाहरुले सटर बन्द गर्नुपर्छ ।
हुन त विदेशमा प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गरेको सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको कुरा उठेको छ । तर अहिले त मुलुकभित्र त्रासको अवस्था छ । यस्तो अवस्थामा को मान्छे परिवार लिएर घुम्न निस्किन्छ ? रेष्टुरेन्टमा खाना खान जान समेत डराउने अवस्था छ । गाउँघरमा हुने कुलपूजामा समेत जाने कि नजाने भन्ने भएको छ । यस्तो अवस्थामा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न गाह्रो हुन्छ ।
संकटबाट बच्ने उपाय बेलैमा खोजियो भने उत्तम हुन्छ । संकट सँधैभरी रहँदैन । कठिन परिस्थिति क्रमशः हट्दै गएपछि प्रगति गर्न सकिन्छ । त्यसका लागि आजै तयार रहनु पर्छ ।
पर्यटनमा संसारका हरेक मुलुकले प्रतिस्पर्धा गरिरहेका हुन्छन् । केही मानिस सामाजिक संजालमा नकारात्मक धारणा राखेर बसिरहेका भेटिन्छ । तर, आशा गर्न छाड्नु हुँदैन । हरेक संकट एक नयाँ अवसरसहित आएको हुन्छ । त्यसको पहिचान मूख्य विषय हो ।
भोलिको तयारी थालौं
भोलि पर्यटक बढाउने तयारी आजै थालौं । सरकारी स्तरबाट ‘रिकभरी कमिटी’ गठन होस् । त्यसले व्यापक तयारीसहित काम होस् । ६ महिनाभित्र नेपालका सम्भावनाको पहिचान गरी त्यसका माध्यमबाट के गर्न सकिन्छ भन्नेमा सरकारलाई सुझाव देओस् । त्यहीअनुसार आक्रामक बजारीकरण र ‘प्रोडक्ट’ विकास गरौं । कतिपय ‘प्रोडक्ट’ हामीसँग भएर पनि चलाउन सकेका छैनौं ।
अन्तर्राष्ट्रिय समाचार बन्नसक्ने उत्पादन र घोषणा ल्याउनेतर्फ लागौं । जस्तो, सगरमाथा बाहेक बाँकी हिमाल बिना रोयल्टी आरोहणको घोषणा गर्न सकिन्छ । सरकारका लागि दुई/चार करोड ठूलो कुरा होइन, घोषणाबाट हुने समाचार र सन्देश ठूलो कुरा हो । यस्ता घोषणाले अन्तर्राष्ट्रिय संचारमाध्यममा ठूलो अर्थ राख्छ । पर्यटक र व्यवसायीलाई अप्ठ्यारो परेका क्षेत्र र विषय खुला भएको घोषणा गर्न सकिन्छ ।
नेपालको ओलाङ्चुङगोला, तोक्पेगोला, हटिया, मनाङको नर र फू २००१ मा मात्रै पर्यटकका लागि खोलिएको हो । त्यतिबेला अमेरिकाको ट्विनटावरमा आक्रमण भएपछि विश्वभर नै आतंकवादले पर्यटन सुस्ताएको थियो । सरकारले त्यतिबेला व्यवसायीको अनुरोधमा ती क्षेत्रहरु खुला गरेर सुस्ताएको पर्यटन क्षेत्रलाई राहत दियो । हिजो गरेको अभ्यास भुलेर अघि बढ्न सकिँदैन ।अन्तर्राष्ट्रिय समाचार बन्ने खालका प्रभावकारी निर्णयहरु सरकारले गर्यो भने हाम्रो पर्यटन क्षेत्र पुनःउत्थानका लागि बरदान बन्न सक्छ । हामीले अन्तर्राष्ट्रिय बजार हेरेर भ्रमण वर्षको भन्दा बढी तयारी गरेर यो संकटलाई अवसरका रुपमा बदल्ने गरी काम गर्नुपर्छ । भ्रमण वर्षको समिति अहिले ‘होल्ड’ भएपनि पर्यटन उत्थान कमिटी बनाउनुपर्छ ।
पूर्वतयारी देखाएरै मन जितौं
अहिले चीनमा नयाँ संक्रमित भेटिने दर एक सयको हाराहारीमा छ । २५ सयबाट एक सयमा झार्न चीनले के–के गर्यो ? बरु कोरिया, जापान, इटाली र इरानमा संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । भोलि नेपालमा १० जनामा कोरोना देखियो भने के हुन्छ ? आज हरेक नेपालीले गरिरहेको प्रश्न यही हो । जनतालाई आश्वस्त पार्ने दायित्व सरकारकै हो । त्यसको लागि गफ हैन, तयारी गरेर देखाउने हो ।
चीनबाट १७५ जना बिरामी ल्याएर क्वारेन्टाइनमा राख्न हामीले यत्रो रोइलो गर्नुपर्यो । भोलि ५०० बिरामी भए के गर्ने ? कामना गरौं– त्यस्तो दिन नआओस्, तर आयो भने त्यो संकटसंग जुध्न हामीसँग यस्तो तयारी छ भनेर आश्वस्त पार्नुपर्छ । त्यो भयो भने विश्व समुदायमा पनि नेपालले चालेका कदमहरुको प्रशंसा हुन सक्छ । त्यसैको आधारमा भोलि कोरोनाको डर हटेपछि पर्यटकमा नेपाल आउने आत्मविश्वास भरिन्छ । त्यसले पर्यटन क्षेत्रमा ‘रिकभरी’ गर्न सहज हुन्छ ।
हामीले केही सैनिक ब्यारेक खाली गर्नुपर्यो, ठूला कम्पाउन्ड भएका केहि विद्यालय खाली गर्नुपर्यो, पाँच हजार बिरामीलाई उपचार गर्नसक्ने क्षमता बनायौं भन्ने सन्देश दिनुपर्यो । सैनिक हस्पिटल खाली गरौं, त्यहाँका बिरामीलाई केहि समय अरु सरकारी अस्पतालमा सारौं । निजी अस्पतालहरुलाई परिचालन गरौं । हरेक प्रदेशमा सम्भाब्य भवनहरु खाली गराएर तयारी थालौं । हेलिकप्टरहरु तयार अवस्थामा राखौं । जुम्लामा संक्रमित देखिए तुरुन्तै उद्धार गरेर ल्याउन सक्छौं भन्ने सन्देश दिऔं ।
सैनिक र प्रहरीलाई कोरोनाका बिरामी सम्हाल्ने तामिल दिऔ । अरु इच्छुक युवालाई पनि बोलाएर स्वयमसेवक तालिम दिएर तयार राखौं । यस्तो तयारीका कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा नेपालको प्रकोप नियन्त्रणको तत्परताको प्रशंसा हुन्छ । त्यसले अन्ततः भोलि नेपाल आउन पर्यटकलाई प्रोत्साहित गर्छ । मलाई केही गरी समस्या पर्यो भने नेपालको सरकार समयमै उद्धार र उपचार गर्न सक्षम छ भन्ने हुनुपर्यो ।
तर आज हामीसँग सय जना संक्रमित भेटिए भने के गर्ने भन्ने योजनासम्म छैन । कोरोना भनेको एक–एक जना गरेर फैलिने होइन रहेछ भन्ने त देखिसकियो । एकबाट १० र १० बाट सय जनामा संक्रमण भइरहेको तथ्यले नै देखाएको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपाललाई संकटको अवस्था आउने सक्ने देशको सूचीमा किन राख्यो भनेर पनि विश्लेषण गरौं ।
हामी भाग्यमानी छौं, अहिलेसम्म कोरोनाले पिरोलको छैन ।
यो अवस्थामा तयारीहरु पनि सबल देखियो भने पर्यटकका लागि नेपाल भरपर्दो देश बन्छ र हाम्रो पर्यटन उद्योगले राहत पाउँछ । गज्जबको पूर्वतयारीको क्रियाकलापले हामीलाई भविष्यमा मार्केटिङ गर्न मात्रै हैन, लक्षित संख्यामा पर्यटक भित्र्याउन पनि सजिलो हुन्छ । बलियो पूर्वतयारी देखाएर विश्वको मन जितौं, यसैमा चुकेर ढल्यौं भने फेरि उठ्न सजिलो हुने छैन ।
(अनलाइनखबरकर्मी रवीन्द्र घिमिरे र अच्युत पुरीसँगको कुराकानीमा आधारित)