fbpx

पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार !

 

 

suman-pandey-pande-8 Blog - How to protect tourism industry?

कोरोनाभाइरसका कारण विश्वव्यापी रुपमा सन्त्रास फैलिरहेको छ । यस रोगको संक्रमणले धेरै क्षेत्रमा प्रभाव पारेको छ, तर सबैभन्दा प्रभावित पर्यटन क्षेत्र देखिएको छ ।  onlinekhabar Blog - How to protect tourism industry?

कोरोना संक्रमणले मानिसको स्वास्थ्यसँगै व्यवसायमा प्रभाव देखाउन थालेको छ । निकै अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ । यसबाट बच्न हामी कति तयार छौं भन्ने विषय महत्वपूर्ण हो । संसारमा कठिन परिस्थिति उत्पन्न भएका समयमा कसरी बच्ने भन्ने सम्बन्धमा सिद्धान्तहरु बनेका छन् । नेपाल सरकारले यसतर्फ खासै ध्यान दिएको जस्तो अहलेसम्म देखिएन ।

पुराना अभ्यास                                                                                                                                                                                                                       

नेपालसँग सन् २००१ र २०१५ मा आएको कठिन परिस्थितिलाई सजिलै पार गरेको अनुभव छ । २००१ मा अमेरिकाको ट्वीनटावरमा भएको आक्रमण र २०१५ को महाभूकम्पपछि नेपालको पर्यटन अहिलेको भन्दा निकै कमजोर अवस्थामा पुगेको थियो ।

२०१५ मा भूकम्पबाट थिलथिलो भएको व्यवसायलाई उकास्न हामीले त्यसबेला अन्तर्राष्ट्रिय विज्ञ बोलाएका थियौं । संयोगवशः म दुबै पटक पर्यटनको नेतृत्वदायी भूमिकामा थिँए । २००१ मा ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष र २०१५ मा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्ष रहँदा हामीले सबै सरोकारवालासँगको समन्वयमा ‘रिकभरी प्लान’ ल्याएका थियौं । भूकम्पपछि एक साताभित्रै अन्तर्राष्ट्रिय विज्ञलाई नेपाल ल्याउन सकेका थियौं । नेपाली विज्ञलाई पनि राखेर टूरिजम रिकभरी कमिटी बनाएका थियौं ।

त्यसले तीव्र गतिमा काम गर्‍ यो । मुलुकभित्र पर्यटन व्यवसायीसँग व्यापक छलफल गर्‍यौं । सञ्चारमाध्यमबाट पनि सहयोग भयो, त्यसले पर्यटनको उद्धारमा निकै सहयोग गरेको थियो । यसैको आधारमा हामीले सन् २०१७ मा आइपुग्दा भूकम्पबाट थलिएको पर्यटनलाई माथि उकास्न सफल भएका थियौं ।

‘रिकभरी प्लान’अनुसार २०१५ डिसेम्बरसम्म पर्यटक आगमनलाई स्थिर राख्ने, २०१६ डिसेम्बरबाट वृद्धिदर बढाउने, २०१७ भित्र पुरानै अवस्थामा फर्कने लक्ष्य थियो । त्यही अनुसार लक्ष्य भेटाएका थियौं ।

अहिले पर्यटनका दृष्टिकोणबाट उस्तै परिस्थिति सिर्जना हुन थालिसकेको छ । सबैमा सन्त्रासको अवस्था देखिन थालिसकेको छ । फरक यति छ, त्यतिबेला हामीलाई मात्र समस्या थियो, अहिले संसार त्रस्त छ । सबै मुलुकको प्राथमिकता आफू कसरी जोगिने भन्ने छ । र, नेपालले पनि कसरी जोगिने भनेर सुझबुझपूर्ण निर्णय गर्नु अत्यावश्यक भएको छ ।

कोरोनाले अब पर्यटन क्षेत्रलाई ठूलो क्षति पुर्‍याउने निश्चित छ । यसबेला दुई पक्षबाट सरकारले ध्यान दिनुपर्छ । एउटा, भएको पर्यटन उद्योगलाई कसरी डुब्न नदिने र स्थिर राख्ने भन्नेमा ध्यान दिनुपर्छ । पहिला ‘हामी बच्नुपर्‍यो’ भन्ने सिद्धान्तअनुसार पर्यटन क्षेत्रलाई तत्कालै आगामी ६ महिनाको स्पष्ट योजना आवश्यक छ ।

अर्को, परिस्थिति सामान्य भएपछि कसरी आक्रामक बजार विस्तारमा गएर गुमेको व्यवसाय फर्काउने भन्ने हो ।

व्यापार खस्किएपछि उद्योग नडुबोस् भन्ने सम्बन्धमा सरकारले व्यवसायीसँग छलफल र समन्वय गर्न ढिला गर्नुहुँदैन । २००१ मा ट्विनटावरमा आक्रमणपछिको आतंकले पर्यटक आगमन बन्द हुँदा हरेक मुलुकले आफ्नो व्यवसायलाई ‘रिलिफ प्याकेज’ उपलब्ध गराएका थिए । नेपालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले क्याविनेट मन्त्रीकै संयोजकत्वमा टोली गठन गरी पर्यटन व्यवसायलाई ‘रिलिफ प्याकेज’ घोषणा गराउनु भएको थियो ।

उद्योग जोगाउने विषय महत्वपूर्ण हुन्छ । यो रिलिफ प्याकेज के के हुनेछ भन्ने चाँही सरकार र निजी क्षेत्र बसेरै टुंगो लगाउन सकिन्छ ।

पर्यटन क्षेत्रले राज्य खोज्दैछ

अहिले धेरैजसो उद्योग बैंकको ऋणमा आधारित छन् । विजनेस नभएसम्म व्यवसायीले बैंकको ऋण तिर्न सक्दैनन् । त्यसकारण केही समय ऋण व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा प्याकेज घोषणा हुनसक्छ । अर्कोतर्फ हिजोदेखि व्यवसायीले मागेको तर, नपाएका केही विषेश घोषणा हुन सक्छन् । त्यसमा सहकार्य गरी राहत प्याकेज ल्याउन ढिला गर्नु हुँदैन ।

भ्रमण वर्ष २०२० को माहौलमा पर्यटक आगमन बढ्दो क्रममा रहेका कारण सबैजसो व्यवसायीले लगानी थपेका छन् । आतिथ्य सेवाका उत्पादन बढेका छन् । व्यवसायीले क्षमता विस्तार गरेका छन् । नयाँ कम्पनी स्थापना गर्दै बढ्दो व्यवसायबाट लाभ लिन सक्ने अपेक्षा हामीले गरेका थियौं । जहाज, हेलिकप्टरको बढ्दो संख्या पनि यसकै उपज हो । यस्तो बेला अपेक्षित पाहुना आउन सकेनन् भने पर्यटन व्यवसाय डुब्छ । पर्यटन क्षेत्रले अहिले राज्यको साथ खोज्दैछ ।

हामी पनि आफ्ना तर्फबाट गर्न सकिने कामहरु गर्छौं । उद्योगभित्र पनि अब सहमतिमा ‘सप्लाई’ घटाउन सकिन्छ । एयरलाइन्सले विमान संख्या घटाउन सक्छ । होटेलहरुले आधा कोठा तत्कालका लागि बन्द गर्न सक्छन् । सहमति भयो भने कर्मचारीहरुलाई बेतलवी बिदामा घर पठाउन सकिन्छ ।आपतकालमा नेगोसियसनमै तलब पनि घटाउन सकिन्छ । यस्ता धेरै उपाय लगाउन सकिन्छ । सकभर खर्च कम गर्ने उपायतर्फ व्यवसायीसमेत जुट्नुपर्छ । सरकारले त्यसमा सघाउनुपर्छ । मूख्य कुरा पहिलो ६ महिना त हामी बाँच्नुपर्छ ।

हिजो हामीले एयरलाइन्स एशोसियसनसँग पनि कुरा गर्‍यौं । लगभग ५० प्रतिशत उडान रद्ध भइसकेका छन् । चीनको मार्केट त शुन्यमै गयो । अहिले जुन रुपमा कोरोनोको संक्रमण दर बढ्दै छ, त्यही अवस्था रह्यो भने हाम्रो पर्यटन साफ नै हुन्छ । त्यसपछि अनिकालमा कन्दमुल खाएर बस्नुपर्ने जस्तो अवस्था आउँछ । त्यसैले पर्यटन उद्योग बचाउन सरकारले सहयोग गर्नुपर्छ ।

यत्रायत्रा होटलहरु बनेका छन् । स्टार होटलहरुले करोडौं रुपैयाँको किस्ता तिर्नुपर्छ । अब ६ महिनासम्म किस्ताबापतको ईएमआई होल्ड हुने गरी नीति ल्याउनुपर्‍यो । १० वर्षको ऋण १५ वर्षलाई ‘रि–सेड्युल’ गर्दा समस्या समाधान हुन्छ । त्यो गर्न सरकार चुक्यो भने दुर्घटना हुन्छ, व्यवसायीहरु सडकमा पुग्छन् । पर्यटकका भरमा स–सानो व्यवसाय चलाइरहेकाहरुले सटर बन्द गर्नुपर्छ ।

हुन त विदेशमा प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गरेको सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको कुरा उठेको छ । तर अहिले त मुलुकभित्र त्रासको अवस्था छ । यस्तो अवस्थामा को मान्छे परिवार लिएर घुम्न निस्किन्छ ? रेष्टुरेन्टमा खाना खान जान समेत डराउने अवस्था छ । गाउँघरमा हुने कुलपूजामा समेत जाने कि नजाने भन्ने भएको छ । यस्तो अवस्थामा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न गाह्रो हुन्छ ।

संकटबाट बच्ने उपाय बेलैमा खोजियो भने उत्तम हुन्छ । संकट सँधैभरी रहँदैन । कठिन परिस्थिति क्रमशः हट्दै गएपछि प्रगति गर्न सकिन्छ । त्यसका लागि आजै तयार रहनु पर्छ ।

पर्यटनमा संसारका हरेक मुलुकले प्रतिस्पर्धा गरिरहेका हुन्छन् । केही मानिस सामाजिक संजालमा नकारात्मक धारणा राखेर बसिरहेका भेटिन्छ । तर, आशा गर्न छाड्नु हुँदैन । हरेक संकट एक नयाँ अवसरसहित आएको हुन्छ । त्यसको पहिचान मूख्य विषय हो ।

भोलिको तयारी थालौं

भोलि पर्यटक बढाउने तयारी आजै थालौं । सरकारी स्तरबाट ‘रिकभरी कमिटी’ गठन होस् । त्यसले व्यापक तयारीसहित काम होस् । ६ महिनाभित्र नेपालका सम्भावनाको पहिचान गरी त्यसका माध्यमबाट के गर्न सकिन्छ भन्नेमा सरकारलाई सुझाव देओस् । त्यहीअनुसार आक्रामक बजारीकरण र ‘प्रोडक्ट’ विकास गरौं । कतिपय ‘प्रोडक्ट’ हामीसँग भएर पनि चलाउन सकेका छैनौं ।

अन्तर्राष्ट्रिय समाचार बन्नसक्ने उत्पादन र घोषणा ल्याउनेतर्फ लागौं । जस्तो, सगरमाथा बाहेक बाँकी हिमाल बिना रोयल्टी आरोहणको घोषणा गर्न सकिन्छ । सरकारका लागि दुई/चार करोड ठूलो कुरा होइन, घोषणाबाट हुने समाचार र सन्देश ठूलो कुरा हो । यस्ता घोषणाले अन्तर्राष्ट्रिय संचारमाध्यममा ठूलो अर्थ राख्छ । पर्यटक र व्यवसायीलाई अप्ठ्यारो परेका क्षेत्र र विषय खुला भएको घोषणा गर्न सकिन्छ ।

नेपालको ओलाङ्चुङगोला, तोक्पेगोला, हटिया, मनाङको नर र फू २००१ मा मात्रै पर्यटकका लागि खोलिएको हो । त्यतिबेला अमेरिकाको ट्विनटावरमा आक्रमण भएपछि विश्वभर नै आतंकवादले पर्यटन सुस्ताएको थियो । सरकारले त्यतिबेला व्यवसायीको अनुरोधमा ती क्षेत्रहरु खुला गरेर सुस्ताएको पर्यटन क्षेत्रलाई राहत दियो । हिजो गरेको अभ्यास भुलेर अघि बढ्न सकिँदैन ।अन्तर्राष्ट्रिय समाचार बन्ने खालका प्रभावकारी निर्णयहरु सरकारले गर्‍यो भने हाम्रो पर्यटन क्षेत्र पुनःउत्थानका लागि बरदान बन्न सक्छ । हामीले अन्तर्राष्ट्रिय बजार हेरेर भ्रमण वर्षको भन्दा बढी तयारी गरेर यो संकटलाई अवसरका रुपमा बदल्ने गरी काम गर्नुपर्छ । भ्रमण वर्षको समिति अहिले ‘होल्ड’ भएपनि पर्यटन उत्थान कमिटी बनाउनुपर्छ ।

पूर्वतयारी देखाएरै मन जितौं

अहिले चीनमा नयाँ संक्रमित भेटिने दर एक सयको हाराहारीमा छ । २५ सयबाट एक सयमा झार्न चीनले के–के गर्‍यो ? बरु कोरिया, जापान, इटाली र इरानमा संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । भोलि नेपालमा १० जनामा कोरोना देखियो भने के हुन्छ ? आज हरेक नेपालीले गरिरहेको प्रश्न यही हो । जनतालाई आश्वस्त पार्ने दायित्व सरकारकै हो । त्यसको लागि गफ हैन, तयारी गरेर देखाउने हो ।

चीनबाट १७५ जना बिरामी ल्याएर क्वारेन्टाइनमा राख्न हामीले यत्रो रोइलो गर्नुपर्‍यो । भोलि ५०० बिरामी भए के गर्ने ? कामना गरौं– त्यस्तो दिन नआओस्, तर आयो भने त्यो संकटसंग जुध्न हामीसँग यस्तो तयारी छ भनेर आश्वस्त पार्नुपर्छ । त्यो भयो भने विश्व समुदायमा पनि नेपालले चालेका कदमहरुको प्रशंसा हुन सक्छ । त्यसैको आधारमा भोलि कोरोनाको डर हटेपछि पर्यटकमा नेपाल आउने आत्मविश्वास भरिन्छ । त्यसले पर्यटन क्षेत्रमा ‘रिकभरी’ गर्न सहज हुन्छ ।

हामीले केही सैनिक ब्यारेक खाली गर्नुपर्‍यो, ठूला कम्पाउन्ड भएका केहि विद्यालय खाली गर्नुपर्‍यो, पाँच हजार बिरामीलाई उपचार गर्नसक्ने क्षमता बनायौं भन्ने सन्देश दिनुपर्‍यो । सैनिक हस्पिटल खाली गरौं, त्यहाँका बिरामीलाई केहि समय अरु सरकारी अस्पतालमा सारौं । निजी अस्पतालहरुलाई परिचालन गरौं । हरेक प्रदेशमा सम्भाब्य भवनहरु खाली गराएर तयारी थालौं । हेलिकप्टरहरु तयार अवस्थामा राखौं । जुम्लामा संक्रमित देखिए तुरुन्तै उद्धार गरेर ल्याउन सक्छौं भन्ने सन्देश दिऔं ।

सैनिक र प्रहरीलाई कोरोनाका बिरामी सम्हाल्ने तामिल दिऔ । अरु इच्छुक युवालाई पनि बोलाएर स्वयमसेवक तालिम दिएर तयार राखौं । यस्तो तयारीका कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा नेपालको प्रकोप नियन्त्रणको तत्परताको प्रशंसा हुन्छ । त्यसले अन्ततः भोलि नेपाल आउन पर्यटकलाई प्रोत्साहित गर्छ । मलाई केही गरी समस्या पर्‍यो भने नेपालको सरकार समयमै उद्धार र उपचार गर्न सक्षम छ भन्ने हुनुपर्‍यो ।

तर आज हामीसँग सय जना संक्रमित भेटिए भने के गर्ने भन्ने योजनासम्म छैन । कोरोना भनेको एक–एक जना गरेर फैलिने होइन रहेछ भन्ने त देखिसकियो । एकबाट १० र १० बाट सय जनामा संक्रमण भइरहेको तथ्यले नै देखाएको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपाललाई संकटको अवस्था आउने सक्ने देशको सूचीमा किन राख्यो भनेर पनि विश्लेषण गरौं ।

हामी भाग्यमानी छौं, अहिलेसम्म कोरोनाले पिरोलको छैन ।

यो अवस्थामा तयारीहरु पनि सबल देखियो भने पर्यटकका लागि नेपाल भरपर्दो देश बन्छ र हाम्रो पर्यटन उद्योगले राहत पाउँछ । गज्जबको पूर्वतयारीको क्रियाकलापले हामीलाई भविष्यमा मार्केटिङ गर्न मात्रै हैन, लक्षित संख्यामा पर्यटक भित्र्याउन पनि सजिलो हुन्छ । बलियो पूर्वतयारी देखाएर विश्वको मन जितौं, यसैमा चुकेर ढल्यौं भने फेरि उठ्न सजिलो हुने छैन ।

(अनलाइनखबरकर्मी रवीन्द्र घिमिरे र अच्युत पुरीसँगको कुराकानीमा आधारित)